`एक्लै फिल्म हेर्छु` : बेनिशा हमाल
स्वर डेव्यु अभिनत्री बेनिशा हमाल अभिनय सँगै स्क्रिप्ट लेखनमा पनि व्यस्त छिन् । विगत दुई वर्ष देखीको स्क्रिप्ट लेखनको समाचार बेनिशाले भर्खर मात्रै सार्वजनिक गरेकी हुन् । म्युजिकल फिल्म मोक्षको सुटिङ सकाएर बसेकी बेनिशाको साउन ३२ गतेबाट 'महसुश' प्रदर्शनमा आउँदैछ । कलाकारसँगै स्क्रिप्ट राइटर समेतको परिचय बनाउँदै गरेकी बेनिशासँग फिल्मीखबरले मुभी टक गरेको छ : तपाई फिल्म किन हेर्नु हुन्छ ? फिल्म क्षेत्रमा आउनु भन्दा पहिला फिल्म केवल मनोरञ्जनको लागी मात्रै हेर्ने गर्थे । फिल्म क्षेत्रमा आएपछि भने फिल्मसँगको लगावले गर्दा फिल्म हेर्न थालें । फिल्मको कथा लेख्न थालेपछि नाम चलेका कलाकार र निर्देशकका फिल्म हेर्नु अनिवार्य जस्तै भएको छ । फिल्म हेर्दा तपाईको प्रथामिकता केमा हुन्छ ? समष्टिमा पुरै फिल्म नै मेरो प्रथामिकतामा पर्छ । फिल्मको कथा देखी प्रस्तुती र कलाकारको अभिनय सम्मलाई ध्यान दिएर हेर्छु । फिल्म राम्रो हुनको लागी यी सबै कुराको समिश्रण हुन जरुरी छ । फिल्म हेर्ने निर्णय कसरी गर्नु हुन्छ ? मुख्यतः मिडियामा आएको प्रोमो हेरेर नै फिल्म हेर्ने निर्णय गर्छु । यो सँगै सहकर्मीको सल्लाह र आफुलाई मन पर्ने कलाकार तथा निर्देशकको फिल्म हेर्न छुटाउँदिन । कुनै फिल्म दोहोर्याएर हेर्नु भएको छ ? धेरै फिल्म दोहोर्याएर हेरेको छु । त्यसमध्ये पनि स्वाशाङ्क रिडिम्सन, थ्री आइरन, ग्याङ्स अफ वासीपुर धेरै पटक हेरिएको लिस्टमा पर्छन् । जुन फिल्मलाई हरेक पटक हेर्दा पहिलो पटक हेरेको जस्तो अनुभव हुन्छ । फिल्मले तपाईको जीवनमा कस्तो प्रभाव पारेको छ ? हरेक फिल्म मानव जीवनको भावनासँग जोडिएको हुन्छ । मैले जति पनि फिल्म हेरेको छु, ती फिल्मले कुनै न कुनै रुपमा मलाई प्रेरणा दिएको छ । तर, यही नै प्रभाव पार्यो भन्न चाहि अलि गाह्रो होला । कुनै फिल्म हेरेर पछुताउनु भएको छ ? अहिले सम्म कुनै फिल्म हेरेर पछुताएको छैन । किनभने हरेक फिल्मको एक न एक थिम हुन्छ । नराम्रै फिल्म रहेछ भने पनि पछि फिल्म हेर्दा सोच्नु पर्ने रैछ भन्ने पाठ सिकाउँछ । त्यसकारण कुनै पनि फिल्म हेरेर पछुताएको छैन । फिल्म हेर्दा कत्तिको आँसु बग्छ ? पक्कै पनि । यस्ता धेरै फिल्म छन् जस्ले मेरो आँसुलाई रोक्न सक्दैनन् । अहिले सम्म हेरेका मध्ये उत्कृष्ट तीन फिल्म ? सबै फिल्म राम्रा छन् । तर पनि मलाई धेरै वर्ष पहिला हेरेको नेपाली फिल्म 'देउता' उत्कृष्ट लाग्छ । यो फिल्मले नेपालीत्वको भावनालाई दर्साउँछ । त्यस्तै विद्या वालनको कहानी र कोरियन फिल्म थ्री आइरन पनि उत्कृष्ट फिल्म लाग्छ । मन पर्ने तीन अभिनेत्री ? जल शाह, विद्या वालन र कियरा नाइट्ली । फिल्म हेर्दा को सँगै भैदिओस् जस्तो लाग्छ ? वास्तवमा म फिल्म एक्लै हेर्न मन पराउँछु । तर, हलमा जाँदा भने साथीहरु पनि सँगै हुन्छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.