ट्रेड सेन्टरमा लुटिए अभिनेता आर्यन सिग्देल !
काठमाडौं – झोलामा के छ? सामान छ। के सामान? जे सुकै होस् तपाईंलाई के को मतलब? केही दिनअघि अभिनेता आर्यन सिग्देल सशस्त्र प्रहरीका एक जवानसँग यसरी नै मुख लाग्दैथिए। सशस्त्र प्रहरीका ती जवान आर्यनले बोकेको कालो झोलालाई लिएर निकै नै जिज्ञासु थिए। तर आर्यन झोलाभित्र के छ? कसैगरी बताउन तयार थिएनन्। यसरी नै बाझाबाझ चलिरहेका बेला कालो मोटरसाइकलमा रहेका ती जवानले आर्यनको हातको झोला अचानक खोसे र आर्यनले हेर्दाहेर्दै मोटरसाइकल दौडाएर गए। आर्यनले समात्ने कोसिस त गरे तर सकेनन्। जवानलाई गाली गरेर चित्त बुझाउनुबाहेक उनीसँग अर्को विकल्प थिएन। छेउबाट आएको ‘कट’को आवाजले आर्यन शान्त बने। उनको अनुहारको तनाव गायब भयो। हाँस्दै उनी ‘कट’को आवाजतिर आए र निर्देशक सुदर्शन थापा तर्फ संकेत गर्दै भने, ‘संस्कृतमा गाली बढी भयो है?’ आर्यनले छाडा शब्दलाई यहाँ संस्कृत शब्द भनेर अर्थ्याउन खोजिरहेका थिए। यी दृश्य फिल्म ‘मधुमास’को थियो, जसमा आर्यन र पूजा शर्मा कलाकारको रुपमा अभिनय गरिरहेका थिए भने उनीहरुलाई निर्देशन गरिरहेका थिए सुदर्शन थापा। सुटिङको ब्रेकमा आर्यनलाई पत्रकारहरुले सोधे, ‘तपाईंको झोला प्रहरीले लग्यो। तपाईं गाली गरेर चित्त बुझाउनुभयो? झोलामा फोहोर मात्र थियो कि क्या हो?’ ‘कहाँ फोहोर हुनु नि? सुन बेचेको पैसा थियो। पुलिस त डाकै रै छ नि,’ आर्यन हाँसे। ‘खासमा पूजा र म फिल्म भित्र विवाहित जोडीको रुपमा छौं। आपत परेर सुन बेचेर पैसा ल्याउँदै थियौं। पुलिसले शंका लागेर पिछा गरिरहेको रैछ। खोसेर लिएर गयो,’ आर्यनले भने, ‘बाँकी कुरा उ प्रोड्युसरलाई सोध्नुस्।’ आर्यननजिकै थिए निर्माता बाबुराम दाहाल। बाबुराम प्रसन्न मुद्रामा थिए। उनले प्रसन्न हुनुका कारण बताए, ‘काम राम्रो भइरहेको छ। लगभग भनेकै समयमा सुटिङ सकिने छाँट छ। र अमेरिकामा धन्दा फिल्मको शो हुँदैछ। त्यो शो पछि ‘धन्दा’को लगानी पूर्ण रुपमा उठ्दैछ।’ ३५ दिनको सेड्युल राखेर सुटिङमा उत्रिएको ‘मधुमास’मा शिवांगिनी राणाले पनि अभिनय गरिरहेकी छन्। ‘फर्किआऊ’बाट फिल्म निर्माणमा हात हालेका बाबुरामको यो तेस्रो फिल्म हो। फिल्ममा सुरेश अधिकारीको संगीत र दीपक बज्राचार्यको छायांकन छ। पटकथा दिनेश न्यौपानेले लेखेका हुन्। स्रोत ©नागरिकन्यूज

0 comments

Write Down Your Responses

Powered by Blogger.